काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद् को बैठक आह्वान गरिएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी हुन्।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावल का अनुसार बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।
भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि समग्र सुरक्षा अवस्थाको समीक्षा गर्न तथा आवश्यक तयारीबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएकी बताइएको छ। बैठकमा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन्।
स्रोतका अनुसार बैठकमा देशभरको पछिल्लो सुरक्षा अवस्थाबारे ब्रिफिङ प्रस्तुत गरिनेछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने विषयमा रणनीतिक छलफल हुने जनाइएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा संयन्त्रलाई चुस्त बनाउन र सम्भावित चुनौतीहरूको मूल्याङ्कन गर्न परिषद् बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्