मतगणना स्थलको सुरक्षामा कडा निगरानीः तारजाली र सिसीटिभी क्यामेरा जडान सम्पन्न


काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएलगत्तै सुरु हुने मतगणनालाई सुरक्षित, विवादरहित र छिटोछरितो बनाउन निर्वाचन आयोगले देशभरका मतगणना स्थलहरूमा कडा सुरक्षा तथा प्राविधिक व्यवस्था मिलाएको जनाएको छ ।

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार देशैभरका मतगणना स्थलहरूको तयारी पूरा भइसकेको छ । विगतका निर्वाचनहरूमा मतगणनाका क्रममा मतपत्र च्यात्ने, हुलहुज्जत गर्ने जस्ता घटनाहरू दोहोरिन नदिन यसपटक प्रत्येक मतगणना स्थलमा अनिवार्य रूपमा तारजाली र सिसीटिभी क्यामेराको व्यवस्था गरिएको उहाँले जानकारी दिए।

सचिव राउतले मतगणनासम्बन्धी ऐन, नियमावली र निर्देशिकाअनुसार आयोगले थप परिपत्रसमेत जारी गरिसकेको बताए । सोही कानुनी व्यवस्थाअनुसार मतगणनालाई व्यवस्थित र तीव्र बनाउन आवश्यक थप प्राविधिक तयारी गरिएको उनको भनाइ छ ।

उनका अनुसार उपयुक्त हलको छनोटदेखि सुरक्षा व्यवस्थापनसम्मका सबै काम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमार्फत सम्पन्न भइसकेको छ । देशका सबै जिल्लाबाट आवश्यक व्यवस्थापन पूरा भएको प्रतिवेदन आयोगमा प्राप्त भइसकेको पनि उनले जानकारी दिए ।

मतगणना कार्यलाई विगतको तुलनामा थप छिटो, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ सुरक्षा तथा प्राविधिक व्यवस्थामा विशेष ध्यान दिइएको आयोगले जनाएको छ ।