काठमाडाैँ । सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना लागू गरी देशभर कडा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा आइसकेको छ।
आयोगलाई प्राप्त विवरणअनुसार देशभर रहेका कुल १० हजार ९ सय ६७ मतदान स्थललाई सुरक्षा संवेदनशीलताका आधारमा तीन श्रेणीमा वर्गीकरण गरिएको छ।
विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कनका आधारमा ३ हजार ६ सय ८० मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ। त्यसैगरी ४ हजार ४ सय ४२ मतदान स्थललाई ‘संवेदनशील’ र २ हजार ८ सय ४५ मतदान स्थललाई ‘सामान्य’ श्रेणीमा वर्गीकरण गरिएको छ।
सचिव राउतले उक्त वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित र प्रभावकारी बनाउन गरिएको स्पष्ट पारे । सुरक्षा योजनाअनुसार संवेदनशीलताको स्तर हेरेर आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ। विगतका निर्वाचनहरूमा अपनाइँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यसपटक पनि तीन घेराको सुरक्षा प्रवन्ध मिलाइएको छ।
उनका अनुसार मतदान स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ। त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल परिचालन हुनेछ भने मतदान स्थलको भित्री घेराको सुरक्षा जिम्मा नेपाल प्रहरीलाई दिइएको छ।
आयोगले यस सुरक्षा व्यवस्थाले निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय रूपमा सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्