कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीको हतियार पड्कियो, मतपेटिकामा सामान्य क्षति


काठमाडौं । कटारी नगरपालिका ३ स्थित एक मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार अचानक पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ।

उदयपुरको तरकारी तथा फलफूल केन्द्र तावाखोला मतदान केन्द्रमा बिहान करिब ७स्१० बजे भएको हो। नेपाल प्रहरीका सुरक्षाकर्मीले बोकेको सटगन असावधानीवश पड्किएको प्रहरीले जनाएको छ।

निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी लड्दा बन्दुक पड्किएको प्रारम्भिक जानकारी आएको कोशी प्रदेश प्रहरीले जनाएको छ।

उनका अनुसार गोली लागेर मतपेटिकामा सामान्य क्षति पुगेको भए पनि मानवीय तथा अन्य भौतिक क्षति भने भएको छैन।

घटनापछि क्षति पुगेको मतपेटिका तत्काल फेरेर मतदान प्रक्रिया निरन्तर सञ्चालन गरिएको प्रहरीले जनाएको छ। मतदानमा केन्द्रमा अन्य कुनै अवरोध नआएको र सुरक्षा व्यवस्था यथावत रहेको पनि प्रहरीले स्पष्ट पारेको छ।