काठमाडाैँ । नेकपा (एमाले)का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले नेपाली जनताले निर्वाचनमार्फत अराजकता, विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् ।
आफ्नो मतदान अधिकार प्रयोग गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पोखरेलले मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हितका सवालहरू जोखिममा परेको उल्लेख गर्दै यस निर्वाचनले ती विषयलाई जनमतमार्फत पुनःस्थापित गर्ने बताए । उनले यस निर्वाचनलाई नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण घटनाका रूपमा लिनुपर्ने धारणा पनि व्यक्त गरे ।
नेपालमा दीर्घकालदेखि कायम राजनीतिक अस्थिरताले विकास र समृद्धिमा अवरोध पुर्याइरहेको भन्दै पोखरेलले समाजमा देखापरेको ‘पपुलिज्म’ (लोकरिझ्याइँ) र ‘एनार्किज्म’ (अराजकता) राजनीतिक स्थायित्वका लागि गम्भीर चुनौती बनेको बताए।
उनका अनुसार यही निर्वाचनबाट सबै समस्याको तत्काल समाधान ननिस्किए पनि यसले मुलुकलाई सही दिशातर्फ डोर्याउने र भविष्यमा लोकतन्त्रलाई स्थायित्वतर्फ उन्मुख गराउने आधार तयार गर्नेछ।
निर्वाचन परिणामबारे प्रतिक्रिया दिँदै पोखरेलले विचारधाराको आधारमा उभिएका नेपालका प्रमुख राजनीतिक दलहरू नै मुख्य शक्तिका रूपमा स्थापित हुने दाबी गरे। मुलुकलाई अराजकता र विध्वंशतर्फ लैजानु राष्ट्रको दीर्घकालीन हितमा नहुने तथ्य नेपाली जनताले बुझिसकेको उनको भनाइ थियो।
दक्षिण एशियाली मुलुक श्रीलंका र बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन परिणामलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पोखरेलले ती देशका जनताले जस्तै नेपाली जनताले पनि अराजकता र अस्थिरतालाई अस्वीकार गर्ने विश्वास व्यक्त गरे।
उनले श्रीलंका र बंगलादेशका जनताले देखाएको राजनीतिक सचेतता भन्दा नेपाली जनता कम सचेत नरहेको स्पष्ट पार्दै आगामी निर्वाचन परिणामले त्यसलाई पुष्टि गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्