काठमाडाैँ । नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै पार्टीको वर्तमान अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
पोखरेलले नेकपा माले हुँदै एमालेको ४५ वर्षे राजनीतिक यात्रामा पार्टीले अहिले भोगिरहेको परिणामका कारणबारे गहिरो आत्मसमिक्षा आवश्यक रहेको बताएका छन्।
वास्तविक कारण पहिचान नगरी गोलमटोल भाषामा मात्रै प्रतिक्रिया दिने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिले समस्याको समाधान सम्भव नहुने उनको भनाइ छ।
उनले पार्टीभित्र तलदेखि माथिसम्म सबैले आत्मसमिक्षा गर्दै आफ्नो जिम्मेवारी स्वीकार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। पार्टीलाई सही दिशामा अघि बढाउन अध्यक्षदेखि महासचिवसम्म सबै नेतृत्व तहले जिम्मेवारी ग्रहण गर्दै आत्मसमिक्षा गर्नुपर्ने र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नयाँ नेतृत्वलाई बाटो खुला गर्नुपर्ने उनले बताएका छन्।
यही सन्दर्भमा आजकै दिनदेखि लागू हुने गरी आफूले मकवानपुर जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको पोखरेलले घोषणा गरेका छन्। आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ बनाउन यथार्थलाई आत्मसात् गर्दै नेतृत्वले जिम्मेवारी लिनुपर्ने उनको धारणा छ।
पोखरेलले अब आउने युवा पुस्तालाई आफ्नो पूर्ण साथ र सहयोग रहने उल्लेख गर्दै नयाँ नेतृत्वले पार्टीलाई सही दिशा र ढंगबाट अघि बढाउने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्