काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राज्यका हरेक निकायमा महिलाको सहभागिता बढाएर मात्र नपुग्ने बताएकी छन् ।
११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतवार सिंहदरबारमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अब अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन््र ।
प्रधानमन्त्री कार्कीले हिजो चुलाचौकामा सिमित विभेदको स्वरूप आज कार्यस्थलमा सरेको भन्दै चिन्ता व्यक्त गरे। पछिल्ला दशकमा राज्यका विभिन्न संरचनादेखि स्थानीय तह र संघीय संसदसम्म महिलाको प्रतिनिधित्व बढेको र शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा पहुँच विस्तार भएपनि पर्याप्त नभएको उनको भनाइ छ ।
विशेषगरी दलित, कर्णाली, मधेस तथा सीमान्तकृत समुदायका महिलाहरूको आवाज राज्यको नीति निर्माणमा अझ स्पष्ट रूपमा प्रतिविम्वित हुन आवश्यक रहेको बताइन् । अन्तर्राष्ट्रिय महिला दिवसलाई केवल एउटा उत्सवको दिन मात्र नभई महिला अधिकार, समानता र सम्मानका लागि गरिएको ऐतिहासिक संघर्षको स्मरण गर्ने दिनको रूपमा लिनुपर्ने उनले बताइन् ।
महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गरेपछि मात्रै लोकतन्त्र सुदृढ हुने र संविधानको मर्म कार्यान्वयन हुने प्रधानमन्त्री कार्कीको दाबी छ । उनले समानता, सशक्तिकरण र सामाजिक न्यायको आधारमा समतामूलक समाज निर्माण गर्नु आजको ऐतिहासिक दायित्व भएको भन्दै यसका लागि राज्य, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबैले हातेमालो गर्नुपर्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस्