काठमाडौँ । स्याङ्जा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे विजयी भएका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेले लामो समयदेखि पकड बनाएको यस क्षेत्रको राजनीतिक समीकरण यसपटक भने फरक ढंगले परिणत भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार रास्वपाका डुम्रेले २५ हजार ३५४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भागवत प्रकाश मल्लले २० हजार ८३० मत पाए भने नेकपा एमालेका खिम बहादुर थापाले १४ हजार १०८ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका पदम बहादुर विकले ७८१ मत ल्याएका छन्।
यस परिणामसँगै स्याङ्जा–२ मा लामो समयदेखि पालैपालो वर्चस्व जमाउँदै आएका कांग्रेस र एमालेको समीकरणलाई तोड्दै रास्वपाका डुम्रेले जित हात पारेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने यही क्षेत्रबाट नेपाली कांग्रेसका तत्कालीन उपसभापति धनराज गुरुङ विजयी भएका थिए। गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्दा उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालले २५ हजार ८३९ मत पाएकी थिइन्। त्यस निर्वाचनमा रास्वपाका टिकराज गुरुङले ८ हजार ११३ मत प्राप्त गरेका थिए।
यसअघि २०७४ सालको निर्वाचनमा भने एमालेकी पद्माकुमारी अर्याल विजयी भएकी थिइन्। उनले ३५ हजार १४२ मत ल्याउँदा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ ३१ हजार ४३६ मतमा सीमित भएका थिए।
पञ्चायती व्यवस्था अन्त्यपछि २०४८ सालदेखि स्याङ्जा–२ मा मुख्य रूपमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुँदै आएको थियो। तर यसपटकको निर्वाचनले परम्परागत समीकरणमा परिवर्तन ल्याउँदै नयाँ शक्तिका रूपमा रास्वपाको उपस्थितिलाई बलियो बनाएको देखिएको छ। त्यसैगरि स्याङ्जा क्षेत्र नम्बर १ बाट पनि राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएका छन् ।
यसपटक विजयी भएका डुम्रे राष्ट्रिय स्वतन्त्र पार्टीका सक्रिय युवा नेतामध्ये एक हुन्। २०४९ साल साउन ५ गते स्याङ्जाको वालिङ नगरपालिका–१४ छोरेखर्कमा जन्मिएका डुम्रेले स्नातकोत्तरसम्म अध्ययन गरेका छन्।
पोखरालाई कर्मथलो बनाएर व्यवसायसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका उनी संगठन निर्माण र समाजसेवामा परिचित मानिन्छन्। हाल उनी रास्वपाको केन्द्रीय संगठन विभाग सदस्यको जिम्मेवारी सम्हालिरहेका छन्।
राजनीतिमा आफू जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका डुम्रेले पार्टीको नीति र सिद्धान्तलाई आधार मानेर आवश्यक परे जनहितका पक्षमा दृढ रूपमा उभिने बताउँदै आएका छन्।
यस निर्वाचनसँगै पोखरामा कर्म र स्याङ्जामा राजनीतिक सपना बोकेर अघि बढेका डुम्रे अब प्रतिनिधिसभामा स्याङ्जा–२ को प्रतिनिधित्व गर्ने नयाँ पुस्ताका नेताका रूपमा स्थापित भएका छन्।


प्रतिक्रिया दिनुहोस्