चुनावी नतिजापछि सेयर बजारमा उछाल : ३ मिनेटमै ३ सर्किट, कारोबार दिनभरका लागि बन्द


काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको नतिजापछि सेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ले करिब दुईतिहाइ बहुमतसहित सरकार बनाउने संकेत देखिएपछि स्थिर सरकार र नीतिगत स्थायित्वको अपेक्षाले लगानीकर्ता आक्रामक रूपमा खरिदतर्फ उत्रिएका छन्।

सोमबार बजार खुल्नेबित्तिकै खरिद आदेश मात्र बढेपछि बिक्री गर्ने लगानीकर्ता नदेखिँदा नेप्से परिसूचक एक मिनेटमै पहिलो सर्किट लाग्यो। २० मिनेट कारोबार रोकिएपछि पुनः खुलेको बजार अर्को एक मिनेटमै ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेर ४० मिनेटका लागि कारोबार हल्ट गरिएको थियो।

त्यसपछि फेरि खुलेको बजारमा पनि उछाल रोकिएन। अर्को एक मिनेटमै थप १ प्रतिशत बढ्दै कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट लाग्दै आजका लागि कारोबार स्थगित गरिएको छ।

दिनभरका लागि बन्द हुनुअघि नेप्से परिसूचक १६२.९३ अंकले बढेर २,८७५।४३ बिन्दुमा पुगेको छ। बजारमा २५३ कम्पनीको सेयर कारोबार हुँदा करिब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सामान्य अवस्थामा करिब ४ घण्टा खुला रहने सेयर बजार आज भने लगातार तीन सर्किट लागेपछि जम्मा ३ मिनेटको वास्तविक कारोबारमै सीमित रह्यो। चुनावपछि खुलेको बजारमा देखिएको यो उछालले लगानीकर्तामा उच्च आशा र उत्साह झल्किएको विश्लेषकहरू बताउँछन्।