उद्योग वाणिज्य महासङ्घमा एसोसिएट्सतर्फ ज्योत्सना श्रेष्ठ समूहका उम्मेदवारको नाम अन्तिम चरणमा


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा एसोसिट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठको समूहले कार्यसमिति सदस्यका उम्मेदवारहरूको नाम अन्तिम चरणमा पुर्‍याएको छ ।

दोस्रोपटक एसोसिएट्स उपाध्यक्षमा दोहोरिने तयारी गरेकी श्रेष्ठले कार्यसमिति सदस्यतर्फको उम्मेदवार छनौटलाई अन्तिम चरणमा पुर्‍याएकी हुन् ।

श्रेष्ठले नामहरू छनौट भइसकेपनि अन्तिम रूप दिन बाँकी रहेको बताइन् ।

उनले टक्सार न्युजसँग भनिन्,“नामहरू छनौट त भइसकेको छ तर अन्तिम रूप दिन अझै दुईचारदिन लाग्छ होला ।”

श्रेष्ठको नेतृत्वमा वर्तमान कार्यसमिति सदस्यलाई फेरि दोहोराउने,जिल्लाबाट समेट्ने तथा आफ्नो समूहमा वस्तुगतमा टिकट नपाएकाहरूलाई समेटेर प्यानल बनाउने तयारी छ ।

अहिलेसम्म शैलेन्द्र गुरागाईं, देशबन्धु बस्नेत, नानीराज घिमिरे, डा.रामशरण थपलियागायतको नाम अगाडि आएको छ । यो समूहलाई वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकालले नेतृत्व गरिरहेका छन् ।

यो प्यानलमा वस्तुगत उपाध्यक्षको उम्मेदवार नरेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा उमेश डाल्मिया र कल्पना गैरे छन् । वस्तुगततर्फका सदस्यहरू लगभग टुङ्ग्याएको यो समूहले एसोसिट्स र जिल्लानगरबाट प्रतिनिधित्व गर्ने कार्यसमिति सदस्य उम्मेदवारको नाम अन्तिम चरणमा पुर्‍याएको छ ।

महासङ्घमा यसपटकको चुनावमा दुई समूह बन्ने पक्का भएको छ ।

अर्को समूहको वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आफैले नेतृत्व गरिरहेका छन् ।

अञ्जन समूहले औपचारिक रूपमा उम्मेदवार घोषणा नगरे पनि वस्तुगत उपाध्यक्षको उम्मेदवारमा शिवप्रसाद घिमिरे, एसोसिएट्स उपाध्यक्षको उम्मेदवारमा प्रबलजंग पाण्डे र जिल्लानगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलकुमार श्रेष्ठको नाम टुङ्ग्याएको छ ।

आगामी चैतको अन्तिम हप्ता हुने महासङ्घको नयाँ नेतृत्व चयनको चुनावी रस्साकस्सी सुरु भएको हो ।