काठमाडौँ । निर्वाचन आयोग ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारको धरौटी (जमानत) जफत भएको जनाएको छ। आयोगका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये २ हजार ८ सय ९० जनाले आफ्नो जमानत जोगाउन सकेनन्।
आयोगका सूचना अधिकारी सुमन घिमिरे का अनुसार निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले कानूनअनुसार निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था हुन्छ। निर्वाचन परिणामपछि सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारले मात्रै सो रकम फिर्ता पाउने कानुनी प्रावधान रहेको उनले बताए।
उनका अनुसार सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी रकम भने जफत हुन्छ र राज्यको ढुकुटीमा जाने व्यवस्था छ। यही प्रावधानअनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका २ हजार ८ सय ९० उम्मेदवारको जमानत जफत भएको हो।
आयोगका अनुसार जमानत जफत भएका उम्मेदवारमध्ये ३ सय ५० जनाले एक भोट पनि प्राप्त गर्न सकेनन्। उनीहरूको मत परिणाम शून्य देखिएको छ। यसले कतिपय उम्मेदवारले आफ्नै मत वा परिवारका सदस्यको मतसमेत नपाएको अवस्था देखाएको आयोगको भनाइ छ।
त्यसैगरी प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये ५ सय १६ जनाले मात्र कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै आफ्नो जमानत जोगाउन सफल भएका छन्।
जमानत जोगाउन सफल उम्मेदवारहरूले भने निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिबाट ९० दिनभित्र आयोगमा निवेदन दिएपछि आफ्नो धरौटी रकम फिर्ता पाउने व्यवस्था रहेको आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्