काठमाडाैँ । नेपालले संयुक्त राष्ट्र संघमा आफ्नो पहल सफल बनाउँदै हरेक वर्षको अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाउने घोषणा गराएको छ। मार्च १०, २०२६ मा बसेको संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले यो प्रस्ताव पारित गरेको हो।
नेपालको पहलमा पारित भएको यो प्रस्तावमा कुनै पनि अन्तर्राष्ट्रिय दिवस पहिलो पटक घोषित भएको बताइएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालका अनुसार नेपालको प्रस्तावलाई ४० वटा देशले सहप्रायोजन गरेका थिए, जसमा छिमेकी राष्ट्र भारत र चीनसहित दक्षिण एशियाका प्रायः सबै मुलुकहरू सामेल छन्।
ढकालले बताए अनुसार, यस घोषणाले विश्व मञ्चमा नेपालको उपस्थितिलाई थप सार्थक र गरिमामय बनाएको छ। विश्व शान्ति र मानव हितमा नेपालको सक्रिय भूमिका थप उचाईमा पुगेको छ भने, नेपालको छवि विश्वभर अझ उज्यालो भएको छ। यससँगै नेपाललाई विश्वव्यापी ‘आरोग्यता केन्द्र’ (वेलनेस सेन्टर) का रूपमा विकास गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।
साथै, सरकारले विश्वास लिएको छ कि यस प्रस्तावले नेपालको ‘सौम्य शक्ति’ (सफ्ट पावर) प्रवद्र्धन गर्न र पर्यटनमार्फत आर्थिक कुटनीति सुदृढ गर्न ठूलो योगदान पुर्याउनेछ। प्रस्ताव अनुसार, अन्तर्राष्ट्रिय आरोग्यता दिवसले भौतिक, मानसिक, भावनात्मक, सामाजिक, सांस्कृतिक र वातावरणीय हितलाई समग्र आरोग्यताको रूपमा स्थापित गर्ने छ।
नेपालले अब ‘वेलनेस टुरिज्म’ (आरोग्यता पर्यटन) मार्फत आर्थिक कुटनीति अगाडि बढाउने लक्ष्य राखेको छ। यसले दिगो विकास, रोजगारी सिर्जना, गरिबी निवारण र समावेशी आर्थिक वृद्धिमा गुणात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। योग, ध्यान र प्राकृतिक चिकित्सा जस्ता अनुभवका लागि विदेशी पर्यटकहरूलाई नेपाल आकर्षित गर्न यो कदम महत्वपूर्ण मानिएको छ।


प्रतिक्रिया दिनुहोस्