‘गरिमा सुवर्ण योजना’को बिक्री खुला, सर्वसाधारणका लागि ३.५ करोड इकाई


काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड ले आजदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ को इकाई बिक्री खुला गरेको छ।

योजनाको कुल आकार १ अर्ब रुपैयाँ भए पनि पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई मात्र निष्कासन गरिएको छ। तीमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंक लाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।

प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। आवेदन चैत २ गतेसम्म खुला रहनेछ भने पर्याप्त आवेदन नपरेमा चैत १२ गतेसम्म म्याद थप हुन सक्ने कम्पनीले जनाएको छ।

लगानीकर्ताले आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली वा मेरा सेयर वेब तथा एप प्रयोग गरी आवेदन दिन सक्नेछन्।