काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी अध्यक्ष ओमदेवी मल्लले स्वास्थ्य समस्या र राजनीतिक हस्तक्षेपको कारण पदबाट राजीनामा दिएकी छिन्। उनले राजीनामा पत्रमा आफ्नो कार्यकालका अनुभव र सहकारी क्षेत्रमा देखिएका चुनौतीहरू पनि सार्वजनिक गरेकी छन्।
मल्लका अनुसार उनी विगत ६ महिनादेखि संयुक्त राज्य अमेरिकामा स्वास्थ्य उपचार र पारिवारिक भेटघाटका लागि थिइन्। पुसमा सम्पन्न ३३औं वार्षिक साधारणसभामा उपस्थिति जनाउन नसकेर मात्र शुभकामना सन्देश पठाएकी उनले बताइन्।
अध्यक्ष पदमा रहेको छोटो अवधिमा पनि उनले र उनको टिमले सहकारी क्षेत्रको सुधार र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू थालनी गरेका थिए। तीमध्ये बजेट निरन्तरता, सातै प्रदेशमा गोष्ठी, सहकारी राष्ट्रिय गीतको निर्माण, अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मनाउने तयारी, डिजिटल कन्क्लेभ र सहकारी रोजगार मेला प्रमुख छन्।
तर मल्लले कार्यकालका दौरान राजनीतिक हस्तक्षेप र आन्तरिक असहयोगका कारण आफूले योजना अनुसार काम गर्न नसकेको उल्लेख गरेकी छिन्। उनले भनिन्, “महासंघका बैठकहरू पूर्वअनुमति लिनुपर्ने, निर्णयहरू पार्टी हितअनुकूल हुनुपर्ने दबावका कारण स्वतन्त्र रूपमा काम गर्न सकिनँ। आफ्नै टिम र सहकर्मीहरूको सकारात्मक सहयोगको कारण केही महत्वपूर्ण काम भए पनि, राजनीतिक हस्तक्षेप र असहयोगले मानसिक तनाव बढायो।”
उनले परिवारसँगै अमेरिका आउँदा स्वास्थ्य सुधार र मानसिक तनाव कम हुने आशा राखेको तर निरन्तर दबाव र राजीनामा दिने मागले अन्ततः पदबाट छुट्टिनु परेको बताइन्। मल्लले राजीनामा पत्रमा सहकारी क्षेत्रको भविष्य र नयाँ नेतृत्वको सहज निर्वाचनका लागि आफ्नो निर्णय औपचारिक रूपमा स्वीकृत गर्न सबै सरोकारवालाहरूलाई आग्रह गरेकी छिन्।
मल्लले सहकारी अभियानमा योगदान गरेका सबै सहकर्मीप्रति आभार व्यक्त गर्दै, यदि उनको कारणले कसैको मन दुखेको वा असुविधा पुगेको छ भने क्षमा मागेकी छन्। उनले यस निर्णय स्वास्थ्य र मानसिक शान्तिका लागि अपरिहार्य भएको पनि स्पष्ट पारिन्।


प्रतिक्रिया दिनुहोस्