मनसुनअघि कुमारी घरको छानो जिर्णोद्धार सक्न सुनिता डंगोलको निर्देशन


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मनसुन सुरु हुनुअघि कुमारी घर (कुमारी बहाल)को छानोको जिर्णोद्धार कार्य सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

बिहीवार बसन्तपुरस्थित कुमारी घरको छानो जिर्णोद्धार कार्यको अनुगमन गर्दै उनले धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई ध्यानमा राख्दै समयमै काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन्। उनले कुमारी घर काठमाडौंको सांस्कृतिक पहिचान र अनुहार भएकाले यसको संरक्षण अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै चुहावटको समस्या आएपछि महानगरले तत्काल चासो देखाएर जिर्णोद्धार प्रक्रिया अघि बढाएको बताइन्।

गत बर्खायाममा कुमारी घरको छानो चुहिन थालेपछि प्राविधिक अध्ययनका लागि साउन २ गते समिति गठन गरिएको थियो । सोही अध्ययनपछि बोलपत्र प्रक्रियामार्फत छनोट भएको अजय निर्माण सेवासँग फागुन ११ गते सम्झौता भई फागुन २५ गतेदेखि जिर्णोद्धार कार्य सुरु भएको हो ।

अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले निर्माण पक्षसँग छलफल गर्दै मनसुन सुरु हुनुअघि नै काम सक्ने गरी कामको गति बढाउन आग्रह गरिन्। उनले महानगरबाट आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउँदै यो संरचना धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै संवेदनशील भएकाले सबै प्रक्रिया समन्वयात्मक रूपमा अघि बढाइने बताइन् ।

सोही अवसरमा उनले न्यूरोडस्थित महानगरको वरुणयन्त्र कार्यालयको समेत अनुगमन गरिन् । उक्त कार्यालयको पुनर्निर्माण कार्य समयमै सम्पन्न गर्न उहाँले निर्माण पक्षलाई निर्देशन दिइन् ।