धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागौँः मुख्यमन्त्री बानियाँ


काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जात, धर्म र पहिचानको नाममा राजनीति गर्ने प्रवृत्ति त्यागेर मानवतामा आधारित राजनीति गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले गणतन्त्र स्थापनापछि सबै जाति तथा समुदायले समान अधिकार प्राप्त गरेको उल्लेख गर्दै अब अधिकारको मागभन्दा कर्तव्यको प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले संविधानले समावेशिता र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिसकेको भन्दै पहिचानको राजनीति संस्कृति, परम्परा र अस्तित्व जोगाउनका लागि आवश्यक भए पनि यसलाई विभाजनकारी ढंगले प्रयोग गर्न नहुने धारणा राखे ।

उनले सशस्त्र द्वन्द्वकालीन सन्दर्भ उल्लेख गर्दै त्यतिबेला जातीय पहिचानभन्दा माथि उठेर सेना, प्रहरी तथा सर्वसाधारण नागरिकको ज्यान गएको स्मरण गराउँदै अब त्यस्तो अवस्था दोहोरिन नहुनेमा जोड दिए ।

उनका अनुसार गणतन्त्रले जनजाति, मधेशी, मुस्लिम, महिला तथा खस आर्यसहित सबै समुदायलाई अधिकार प्रदान गरेको छ र अन्तिम सत्य मानवता नै भएकाले राजनीति पनि मानवताका आधारमा हुनुपर्ने बताए।

मुख्यमन्त्री बानियाँले सबै वर्ग र समुदायले प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता भएको उल्लेख गरे।