काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते गर्ने भएको छ।
सचिवालयले जारी गरेको सूचनाअनुसार शपथ कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ।
संविधान र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम आयोजना गरिने उक्त कार्यक्रममा २०८२ को प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सदस्यहरूले शपथ लिनेछन्। सचिवालयले सबै सदस्यहरूलाई तोकिएको समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरेको छ।
शपथ कार्यक्रममा सहभागी हुँदा सदस्यहरूले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति अनिवार्य रूपमा ल्याउनुपर्ने उल्लेख गरिएको छ। साथै, औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ।
नेपाली बाहेक मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले सम्बन्धित भाषामा अनुवाद गरिएको शपथको व्यहोरा कार्यक्रमभन्दा तीन दिनअघि नै संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा इमेलमार्फत उपलब्ध गराउनुपर्नेछ।
सचिवालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि आफ्ना जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई उक्त सूचना जानकारी गराउने व्यवस्था मिलाउन अनुरोध गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्