इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै


काठमाडाैँ । इस्लाम धर्मावलम्वीहरूको महान पर्व इद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । 
एक महिना लामो पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि चन्द्रमा देखिएसँगै आज यो पर्व मनाउने परम्परा रहेको छ ।

आज बिहानैदेखि काठमाडौँको घण्टाघरस्थित जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका विभिन्न मस्जिद र इदगाहहरूमा इस्लाम धर्मावलम्वीहरूको ठूलो उपस्थिति रहेको छ । मस्जिदहरूमा सामूहिक रूपमा नमाज पढ्दै उनीहरूले देशमा शान्ति, समृद्धि र आपसी भाइचाराको कामना गरेका छन् ।

इदको अवसरमा आज बिहानै नुहाइधुवाइ गरी नयाँ लुगा लगाएर मस्जिद जाने र सामूहिक प्रार्थना गर्ने गरिन्छ । प्रार्थनापछि एक–अर्कालाई अँगालो हालेर ‘इद मुवारक’ भन्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यस पर्वमा गरिब तथा असहायलाई दान (जकात र फित्रा) दिने परम्परा पनि रहेको छ, जसले समाजमा समानताको सन्देश दिन्छ ।

घरघरमा सेवई, खजुर लगायतका विशेष परिकारहरू बनाएर आफन्त र साथीभाइलाई खुवाउने चलन छ। यो पर्वले मुस्लिम समुदाय मात्र नभई सम्पूर्ण नेपाली समाजमा आपसी सद्भाव र एकतालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।