आजदेखि सानिगाड हाइड्रोको आइपिओमा आवेदन खुला


काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये अहिले २८ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारेका लागि निष्कासन गरेको हो ।

आयोजना प्रभावितलाई छुट्याइएको कुल आईपीओमध्ये १८ लाख ५२ हजार ५०० कित्ता आयोजना अति प्रभावित क्षेत्र अर्थात बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का स्थानीय बासिन्दाले र ९ लाख ९७ हजार ५०० कित्ता प्रभावित क्षेत्र अर्थात बुंगल नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, ८, ९, १० र ११ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । आयोजना प्रभावित स्थानीय बासिन्दाले चैत २२ गतेसम्म र वैदेशिक रोजगारमा गएका नेपालीले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितले बुंगल नगरपालिकास्थित कम्पनीको पावर हाउस, लक्ष्मी लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा कार्यालयका साथै ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङस्थित शाखा कार्यालयमा आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।