काठमाडाैँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक शुरु भएको छ । केहीबेर अघि पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो । बैठक मुख्यगरी चुनावी समिक्षा र पार्टीको १५औँ अधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।
बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रिय सदस्य प्रतिमा गौतमले पार्टी अब १५ औँ महाधिवेशनतर्फ केन्द्रित हुने बताइन् ।गौतमकाअनुसार आजको बैठकले १५ औँ महाधिवेशनको प्रारम्भिक कार्यतालिका प्रश्ताव गर्नेछ ।
उनले आगामी भदौसम्म महाधिवेशन सम्पन्न गर्ने गरी छलफल अगाडि बढ्ने बताइन् । पार्टीभित्रको आन्तरिक विवादलाई साम्य पार्दै पार्टीलाई एकढिक्का राख्ने प्रयास भइरहेको उनको भनाइ छ । उहाँले कतिपय नेताहरुले सभापतिकै हस्ताक्षरमा चुनाव लडेर आएको तथा अहिले उहाँलाई नै मान्दिनँ भन्ने गरेको भन्दै उनीहरुमाथि नैतिकताको प्रश्न खडा भएको समेत बताइन्।
उनले भनिन्, “अब निर्वाचनको सबै प्रक्रिया समाप्त भइसक्यो । अब हामी पार्टीको १५ औँ महाधिवेशनतर्फ केन्द्रित हुन्छौँ । आजको केन्द्रिय कार्यसमिति बैठकबाट हामी १५ औँ अधिवेशनको कार्यतालिका लिएर आउँछौँ । यसबारेमा आज विस्तृत रुपमा छलफल हुन्छ । सम्भवतः अगामी भदौसम्म महाधिवेशन गर्नेगरी जान्छौँ । हामीलाई निर्वाचन आयोगले वैधानिकता दिइसकेको छ । त्यहीअनुसार सभापतिको हस्ताक्षरमा चुनाव लडेर आउने र आज त्यही सभापतिलाई मान्दिनँ भन्ने कुराले उहाँहरुको नैतिकतामा प्रश्न उठाउँछ । अगामी अधिवेश्नबाट हामी सबैलाई मिलाएर लगेर एकताको अधिवेशन बनाउँछौँ ।”
उनले आगामी महाधिवेशनलाई एकताको अधिवेशन बनाउने र सबैलाई समेटेर अघि बढ्ने दाबी समेत गरिन् । प्रतिनिधि सभा निर्वाचनपश्चात सभापति गगनकुमार थापा समेत पहिलो पटक पार्टी बैठकमा सहभागि भएका छन् । यसअघि उनले दिएको राजीनामा पार्टीले अस्वीकृत गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्