काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष एवं आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकालले निजी क्षेत्रको एजेण्डालाई सरकारको प्राथमिकतामा राख्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महासंघको ६० औं वार्षिक साधारण सभाको सन्दर्भमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले वर्तमान नेतृत्वको सफलताको स्वामित्व लिँदै आगामी कार्यकालमा थप चुनौतीहरूको सामना गर्न आफू तयार रहेको बताएका हुन् ।
ढकालले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल ऐतिहासिक रूपमा सफल रहेको बताए । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठन र त्यसले दिएका सुझावहरू कार्यान्वयनको चरणमा रहेको बताउँदै ढकालले वर्तमान सरकार निजी क्षेत्रका एजेण्डाप्रति सकारात्मक रहेको उल्लेख गरे ।
ढकालले आफूसँगै चुनावी मैदानमा रहेका वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेश दास, जिल्ला नगरका उम्मेदवार उमेश डालमिया, कल्पना गैह्रे र एसोसिएटका उम्मेदवारहरूको प्रशंसा गर्दै उनीहरूलाई विजयी गराउन आग्रह गरे । उनले महासंघभित्र गुटबन्दी भन्दा पनि एउटै टिम बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
मुलुकको वर्तमान आर्थिक संकुचन र युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै ढकालले अबको नेतृत्वको मुख्य लक्ष्य ‘डबल डिजिट’को आर्थिक वृद्धि हुनुपर्ने बताए । विगत तीन वर्षमा महासंघले दिएको हरेक जिम्मेवारीमा अहोरात्र खटिएको स्मरण गर्दै ढकालले आफ्नो अनुभव र प्रतिवद्धतालाई हेरेर सहयोग गर्न सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्