ओली र लेखकको पक्राउ असंवैधानिक छ, सरकार संविधानअनुसार चलोस्ः एमाले


काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले असंवैधानिक ढंगले बन्दी बनाइएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको छ । 

प्रतिनिधि सभाको बिहीवारको बैठकको प्रारम्भमा बोल्दै सांसद गुरु बरालले अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको पक्राउ असंवैधानिक भएको भन्दै आपत्ति जनाए । उनले सरकार स्वयंले संविधानविरोधी गतिविधि गरिरहेको आरोप पनि लगाए।

उनले संविधानमा सबै नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने तथा समानताको हक रहेको भन्दै नेताद्वय ओली र लेखकलाई तत्काल रिहाई गर्न माग गरे । उनले आन्दोलनको क्रममा एमाले सांसदहरु राज्य दमनबाट घाइते भएको उल्लेख गरे । उनले सरकारलाई संविधानअनुसार चल्न ध्यानाकर्षण गराए । 

उनले भने, “आज देशमा संविधानको खिलाप गतिविधिहरु भइरहेका छन् । संविधानमा हरेक नागरिकले सम्मानपूर्वक बाँच्न, पाउने र समानताको हक प्रदान गरेको छ । सभामुखज्यूमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ असंवैधानिक छ ।”

उनले आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्न समेत सरकारसँग माग गरे ।