काठमाडौं। प्रतिनिधिसभाको नयाँ सभामुख चयन प्रक्रिया यसपटक प्रतिस्पर्धाविहीन हुने देखिएको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति डीपी अर्याल ले सभामुख पदका लागि मनोनयन दर्ता गराएसँगै उनी निर्विरोध चयन हुने सम्भावना बलियो बनेको हो।
संसदमा रास्वपाको दुईतिहाइ नजिकको बहुमत रहेकाले अन्य दलबाट उम्मेदवारी पर्ने सम्भावना न्यून देखिएको छ। नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको छ भने एमालेले छलफल गरिरहेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिनेछ। त्यसपछि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन प्रस्तुत गर्नेछन्। सामूहिक छलफलपछि सभामुख चयन प्रक्रियालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
यसअघि बिहीबार बसेको रास्वपाको संसदीय दल बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
यसपटकको प्रक्रिया औपचारिकतामा सीमित हुने देखिएसँगै संसदको नेतृत्व चयन सहज रूपमा टुंगिने आकलन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्