नयाँ सरकारले पनि सुरू गर्‍यो ऋण लिन,सरकार बनेको दुई हप्तामै करिब रु.२८ अर्ब ऋण स्वीकृत


काठमाडाैँ । नयाँ सरकारले पनि ऋण सुरु गरेको छ । बालेन सरकार बनेको दोस्रो हप्ताभित्रै १८ करोड ५० लाख अमेरिकी डलर अर्थात करिब २७ अर्ब ६१ करोड ४९ लाख नेपाली रूपैयाँ ऋण मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको हो ।

सरकारले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि ९ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले एशियाली विकास बैंकबाट ४ करोड र विश्व बैंकबाट ५ करोड अमेरिकी डलर गरी ९ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यस्तै विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको अर्को सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारले नयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरिरहँदा मुलुकको सार्वजनिक ऋणको भार पनि बढ्दो क्रममा देखिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको फागुन मसान्तसम्मको तथ्यांक अनुसार नेपालको कुल बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

यस कुल ऋणमध्ये आन्तरिकतर्फ १३ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँ र बाह्यतर्फ १५ खर्ब ३० अर्ब १८ करोड ख रुपैयाँ रहेको छ। तथ्यांकले पछिल्लो समय आन्तरिकको तुलनामा बाह्य ऋणको हिस्सा केही बढी रहेको देखाउँछ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको खूद ऋण परिचालनको अवस्था हेर्दा आन्तरिक ऋणतर्फ २ खर्ब ४३ अर्ब ७० करोड रुपैयाँ खूद परिचालन भएको र बाह्य ऋणतर्फ ४८ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ परिचालन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) सँगको अनुपातमा हेर्दा फागुन मसान्तसम्मको कुल ऋणको भार ४७.१३ प्रतिशत पुगेको छ। सरकारले बजेट घाटा पूर्ति र विकास आयोजनाका लागि ऋण परिचालनलाई निरन्तरता दिइरहँदा भुक्तानीको दायित्व पनि सँगसँगै बढ्दै गएको छ।