नेप्से परिसूचक सोमबार ८३ अंकले उकालो, हाइड्रोपावर र फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण


काठमाडौं। अघिल्लो दिन १०५ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० सोमबार ८३.३३ अंकले बढेको छ। यस वृद्धिसँगै नेप्से परिसूचक २७६० अंकमा पुगेको छ।

दिउँसो २ः३३ बजे परिसूचक ९८ अंकले बढेर २७७५ अंकमा पुगेको थियो, जुन आजको कारोबार अवधिको उच्चतम विन्दु रह्यो।

आजको बजार उकालोमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले अघिल्लो दिन ब्रोकरहरूसँगको भेटमा दिएका आश्वासनको भूमिका महत्वपूर्ण देखिएको छ। उनले बजारमा अनावश्यक त्रास फैलिन नदिन, आगामी बजेट रुपान्तरणकारी हुने र नेप्से पुनर्संरचनाको काम अघि बढिरहेको स्पष्ट पार्नुभएको थियो।

करिब २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको घटेको, र १ कम्पनीको स्थिर रहेको छ। सबै समूहका सूचकमा वृद्धि देखिएको छ।

सबैभन्दा बढी हाइड्रोपावर समूह ४.५९ प्रतिशतले बढेको छ। फाइनान्स समूह ४.०३, बैंकिङ ३.१८, विकास बैंक ३.६३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा २.९४, अन्य २.३६ र व्यापार २.४० प्रतिशतले उकालो लागेको छ।

८ कम्पनीको मूल्य १० प्रतिशतभन्दा बढी बढेको छ। ती कम्पनीमा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट रहेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, शिवश्री हाइड्रोपावरको ९.५५ र हिमाल दोलखा हाइड्रोपावरको ९.१८ प्रतिशत मूल्य वृद्धि भएको छ।

अघिल्लो दिन १० प्रतिशत बढेको रिलायन्स स्पिनिङ मिल्समा भने आज बिक्री चाप बढ्दा कम्पनीको शेयर मूल्य १।६० प्रतिशतले घटेको छ।

आज धेरै कारोबार भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर रहेका छन्।

कुल ३४५ कम्पनीको २ करोड ५१ लाख ५५ हजार ८ सय ५४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९ करोड २८ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।