काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनाव र द्वन्द्वका बीच नेपालका लागि निर्यात विस्तारको नयाँ अवसर सिर्जना भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ले जनाएको छ।
केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा का अनुसार खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण तेल आपूर्तिमा समस्या देखिए पनि पुनर्निर्माणका लागि आवश्यक निर्माणजन्य सामग्रीको माग भने तीव्र रूपमा बढेको छ। उनले विशेषगरी नेपाली सिमेन्टको माग मध्यपूर्वका देशहरूबाट बढिरहेको जानकारी दिए।
राजधानीमा आयोजित उद्योगी–व्यवसायीसँगको छलफलमा राणाले सार्वजनिक रूपमा सिमेन्टमा आत्मनिर्भर भएको दाबी गरिए पनि विदेशी माग आउँदा आपूर्ति गर्न नसकिएको अवस्थाप्रति आश्चर्य व्यक्त गरे। उनका अनुसार इरान र इजरायल लगायतका देशहरूले ठूलो परिमाणमा निर्माण सामग्रीको माग गरिरहेका छन्।
उनले केही देशहरूबीच आर्थिक कारोबार नै नहुने अवस्थाले नेपालजस्ता मुलुकका लागि बजार विस्तार गर्ने अवसर सिर्जना गरेको उल्लेख गर्दै उचित तयारी भए नेपालले यसको लाभ लिन सक्ने बताए।
यस्तै, द्वन्द्वका क्रममा पानी प्रशोधन केन्द्रहरूमा क्षति पुगेकाले मध्यपूर्वमा खानेपानी संकट गहिरिन सक्ने र त्यसले नेपालबाट पानी निर्यातको सम्भावना पनि खोल्ने उनले बताए। यद्यपि, यसका लागि प्राविधिक र नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ।
राणाले सिमेन्ट र पानीसँगै अन्य उपभोग्य वस्तुहरूको समेत निर्यात विस्तार गर्न सकिने उल्लेख गर्दै यसका लागि सरकार र निजी क्षेत्र दुवै सक्रिय हुनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस्