पेट्रोलिमय पदार्थमा व्यापक मूल्य वृद्धि, निगमलाई अझै पाक्षिक ७ अर्ब रुपैयाँ घाटा


काठमाडौँ । सरकारले करमा ५० प्रतिशत छुट दिएपछि पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ भाउ बढेको छ । यस्तै एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.१०० र हवाई इन्धन आन्तरिक तर्फ रु.६.०० ले मूल्य बढाएको छ ।

निगमले भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् पनि निगमलाई पाक्षिक रु.१० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने अवस्था रहेको भन्दै मूल्य बढाएको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै निगमले भनेको छ,“निगमलाई उपरोक्त अनुसारको घाटा निरन्तर भईरहेमा इण्डियन आयल कर्पोरेशनलाई दिने भुक्तानीमा समेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुने भएकाले हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर रु.१७।०० डिजेल/मट्टितेलमा प्रति लिटर रु.२५।०० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.१०० र हवाई इन्धन आन्तरिक तर्फ रु.६।०० ले वृद्धि गरिएको छ ।”

मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने निगमको भनाई छ । मूल्य आजदेखि लागु भएकाे छ ।