काठमाडाैँ । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले युद्धका कारण इन्धनमा संकट देखिएको र प्रतिकूल परिस्थितिमा पनि अत्यन्त संयमता अपनाउँदै न्युनतम स्तरमै भाडादर वृद्धि गर्नुबाहेक अन्य विकल्प नरहेको बताएका छन् ।
हवाई सेवाको कुल सञ्चालन लागतको करिव ४० प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेकोमा हालको मूल्यवृद्धिपछि यो अनुपात झन्डै ५० प्रतिशत हाराहारी पुगेको छ । यसका साथै अमेरिकी डलरको मूल्यवृद्धिका कारण जहाजका पार्टपुर्जा, मर्मतसम्भार, प्राविधिक जनशक्तिको तालिम तथा अन्य आवश्यक खर्चहरू पनि उल्लेखनीय रूपमा बढेका छन् ।
आज राजधानीमा भएको पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष बस्नेतले हालको परिस्थितिमा इन्धनको मूल्य सामान्य हुन समय कुर्नुबाहेक अन्य विकल्प नरहेको बताए । उनले बुद्ध एयरको कामकारबाहीलाई डिजिटल बनाउन लागिएको समेत जानकारी दिए ।
बस्नेतले भने, “बुद्ध एयरको रोयल क्लव अब पूर्ण डिजिटल बनेको छ । यात्रुलाई उडानसँगै माइलेज प्वाइन्ट, डिस्काउन्ट तथा निःशुल्क टिकटलगायत सुविधा दिइएको छ । १ वैशाख २०८३ बाट बुद्धले रोयल क्लव फ्रिक्वेन्ट प्लायर कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गरेका छौँ । नियमित हवाई उडान गर्ने यात्रुहरूका लागि दशकौंदेखि सञ्चालन हुँदै यस कार्यक्रममार्फत लाखौं सदस्य लाभान्वित हुँदै आएका छन् । यात्रु सदस्यले यस फ्रिक्वेन्ट फ्लायर कार्यक्रममार्फत उडानसँगै ’माइलेज प्वाइन्ट’ जम्मा गर्न पाउँछन् । निश्चित माइलेज प्वाइन्ट संकलन भएपछि यात्रु तथा तिनका परिवारका सदस्यले डिस्काउन्ट एवम् निःशुल्क हवाई टिकट प्राप्त गर्न सक्छन् । सस्तो टिकटमा पनि माइलेज प्बाइन्ट दिनेछौँ ।”
उनकाअनुसार यात्रुहरूले संकलित माइलेज प्वाइन्ट प्रयोग गरी बुद्ध एयरको मोबाइल एप वा वेवसाइटबाटै सजिलै टिकट काट्नसक्ने छन् । यसअघि यो सुविधा केवल सेल्स काउन्टर वा एयरपोर्ट काउन्टरमार्फत मात्र उपलब्ध थियो ।
कम्पनीकाअनुसार काठमाडौँबाट पोखरा उडानमा नन रिफन्डेबल टिकटबाट यात्रुले ११२ माइलेज प्वाइन्ट प्राप्त गर्छन् भने सोही बराबरको अर्को पोखरा–काठमाडौं उडान टिकटमा ११२ रुपैयाँसम्मको सहजै डिस्काउन्ट प्राप्त गर्न सक्छन् । यात्रुहरूलाई जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफनो रोयल क्लव नम्बर उल्लेख गर्न बुध्द एयरले अनुरोध गरेको छ ।
यसले यात्रापछि प्राप्त हुने माइलेज प्वाइन्ट तथा डिस्काउन्टको सुविधा लिन सजिलो हुने बुद्ध एयरले विज्ञप्तिमा उल्लेख गरेको छ । रोयल क्लवका सदस्यहरूले सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट सपबाट पनि माइलेज प्वाइन्ट प्रयोग गरी छुट प्राप्त गर्न सक्छन् । यसका लागि रोयल क्लवले विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरिरहेको र इच्छुकहरूलाई सहकार्यका लागि आह्वान समेत बुद्ध एयरले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्