काँग्रेसलाई पूर्ण रूपमा ‘डिजिटलाइज’ गर्छौं, पुराना अभिलेख हटाइँदैनः महामन्त्री पौडेल


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सदस्यहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई उचित जिम्मेवारी दिने उद्देश्यले डिजिटल नवीकरणको प्रक्रिया अगाडि बढाइएको बताए ।

महामन्त्री पौडेलले कुनैपनि व्यक्ति कुन मितिदेखि काँग्रेसको सदस्य भयो, उसको क्षमता के हो र उसले के जिम्मेवारी पाउँदा राम्रोसँग काम गर्नसक्छ भन्नेकुरामा पार्टी अब प्रविधिमार्फत जानकार रहने उल्लेख गरे । सदस्यता अद्यावधिक गर्ने क्रममा पुराना सदस्यहरूको अभिलेख हटाउन लागिएको भन्नेकुरा सत्य नरहेको बताए ।

पार्टीभित्रको एकता र अनुशासनका विषयमा चर्चा गर्दै पौडेलले निर्वाचनपछि जनमतको हिसावले पार्टी केही कमजोर देखिएकाले यतिबेला एकताको झन् बढी आवश्यकता रहेको उनकाे भनाइ छ ।

उनले भने, “आजको डिजिटल युगमा काँग्रेसको सदस्यलाई पार्टीसँग डिजिटल्ली जोड्न खोजिएको हो । सदस्यको फोन नम्बर र अन्य जानकारी भएमा सदस्य–सदस्यबीच, विभिन्न तह र पार्टीबीच समन्वय गर्न सजिलो हुन्छ । पुराना अभिलेख हटाउन खोजिएको होइन, बरु त्यसलाई व्यवस्थित र सुरक्षित गर्न खोजिएको हो । को सदस्य कहिलेदेखि भयो र उसले कुन जिम्मेवारी निर्वाह ग¥यो भन्ने सबैकुरा अब हाम्रो डिजिटल सिस्टममा नमेटिने गरी सुरक्षित रहनेछ । पार्टी कमजोर भएको बेला एकता कायम गर्न सकिएन भने झन् संकट आउँछ । त्यसैले नेतृत्वमा रहेका व्यक्तिहरूले सबैलाई समेटेर अगाडि बढ्न जरुरी छ ।”

आगामी अधिवेशनलाई व्यवस्थित, विधिसम्मत र पूर्वाग्रहरहित ढंगले सम्पन्न गर्न वर्तमान नेतृत्व तयारी समितिको रूपमा क्रियाशील रहेको उनले जानकारी दिए । महामन्त्री पौडेलले अधिवेशन सफल बनाउन, सदस्यता अद्यावधिक गर्न र पार्टीले सार्वजनिक गरेको क्यालेण्डर कार्यान्वयन गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई सहयोगको अपिल गरे ।

अग्रज नेताहरूलाई अभिभावकको रूपमा सम्मान गर्ने बताउँदै उनले उहाँहरूको अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।