काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन् । सो क्रममा उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिए । त्यस्तै ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू गरिएको उनले बताए ।
मन्त्री तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए ।
“अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन् । लामो समय देखि लाईसेन्स नपाउने समस्या अब अन्त्य भएको,” उनले भने।
निरीक्षणका क्रममा उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । विगतमा आवश्यक इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काम ढिला भएको उल्लेख गर्दै अब ती समस्या समाधान गर्दै अघि बढ्ने तिमिल्सिनाको भनाइ थियो ।
अर्बौं रकम खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि थन्किएकोमा तिनलाई सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिएको पनि उनले जानकारी दिए । केन्द्रम करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको भन्दै अब त्यसको प्रभावकारी उपयोग गरिने बताए ।
उनले केन्द्रलाई नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन निर्देशन दिए । त्यस्तै सरकार जनताको सेवाका लागि काम गरिरहेको उल्लेख गर्दै सेवा प्रवाहमा देखिएका गुनासा छिटो समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
मन्त्री तिमिल्सिनाले देशभर इन्टरनेट र मोबाइल सेवाको पहुँच र गुणस्तर सुधार पनि प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको बताउनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउन योजना तयार भइरहेको जानकारी दिए । भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजात छाप्ने सक्ने गरि क्षमता विकास गरिएको उनले बताए ।
हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ । विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र वैशाख १२ गतेभित्र १२ लाख छापिसक्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्