आइपिओ निष्काशन गर्दै माउन्ट एभरेष्ट पावर


काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैशाख १७ गतेदेखि पहिलो चरणको आइपिओ निष्काशन गर्न लागेको हो ।

आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि पहिलो चरणको बिक्री खुला गर्न लागेको हो।

कम्पनीले आफ्नो कुल ८६ करोड रूपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रूपैयाँ बराबरको सेयर निष्काशनको अनुमति पाएको छ। यस अन्तर्गत आयोजना प्रभावित सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका बासिन्दाका लागि ८ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ।

कुल स्थानीय कोटा मध्ये ३ लाख ४४ हजार कित्ता अति प्रभावित क्षेत्र वडा नं. १ र २ का लागि र बाँकी ५ लाख १६ हजार कित्ता सोही नगरपालिकाका अन्य वडाहरूका बासिन्दाका लागि वितरण गरिनेछ।

यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् एक लाख ७२ हजार कित्ता सेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले प्रतिकित्ता १०० रुपैयाँका दरले यसमा लगानी गर्न सक्नेछन्।

आइपिओ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

निष्काशन तालिका अनुसार वैदेशिक रोजगारीमा रहेकाहरूले छिटोमा वैशाख २३ र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका हकमा भने छिटोमा वैशाख ३१ र ढिलोमा जेठ १८ गतेसम्म आवेदन दिने समय सीमा तोकिएको छ।