काठमाडाैँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पाको थवाङ गाउँपालिकामा आगामी वैशाख १९ र २० गते ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रोल्पा कला साहित्य प्रतिष्ठानसँगको सहकार्यमा प्रगतिशील सङ्गीत उत्सव–२०८३ आयोजना गरिने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानकी सदस्य सचिव एवं कार्यक्रम संयोजक कुश्मा महराले गीत सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि, सांस्कृतिक एकता सुदृढीकरण तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्यसहित उत्सव आयोजना गर्न लागिएको बताइन् ।
प्रगतिशील सङ्गीत उत्सव सांस्कृतिक दृष्टिले महत्वपूर्ण राष्ट्रिय कार्यक्रम रहेको पनि उनको भनाइ छ । दुई दिनसम्म चल्ने उत्सवको पहिलो दिन उद्घाटनसँगै प्रगतिशील कलाकारहरूको सांगीतिक प्रश्तुति रहनेछ भने दोस्रो दिन संवाद, अन्तरक्रिया, कार्यशाला र प्यानल छलफल आयोजना गरिने महराले बताइन् ।
उनकाअनुसार उत्सवमा देशभरका प्रगतिशील कलाकार, सांस्कृतिक समूह, शोधकर्ता, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहनेछ । उनले ऐतिहासिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिएको रोल्पाको थवाङमा उत्सव आयोजना गर्दा स्थानीय सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न टेवा पुग्ने विश्वास समेत व्यक्त गरे ।
उत्सवले पर्यटन प्रवद्र्धन र प्रगतिशील सङ्गीतमार्फत सामाजिक रूपान्तरणमा योगदान पु¥याउने आयोजकको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्