काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले राजीनामाको घोषणा गरेका छन् ।
पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा गरेका हुन् । किराँतीले ५ महिनामै जनार्दन शर्माको साथ छोडेका हुन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत किराँतीले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका छन् ।
किराँतीले फेसबुक स्टाटसमा भनेका छन्,“सङ्गठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।”
पार्टी परित्याग गरे पनि राजनीतिबाट भने उनी टाढा नहुने र जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई आत्मसाथ गर्दै देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।
उनले भनेका छन्,“मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु ।”
माधव नेपालहरूसँगको पार्टी एकतामा असहमति जनाउँदै जनार्दन शर्मा तत्काली नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रलोपा गठन गरेका थिए ।
शर्मालाई किराँतीले पनि साथ दिएका थिए । पछिल्लो समय हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग हिमचिम बढाएका किराँतीले जनार्दनको साथ छोडेका हुन् ।


प्रतिक्रिया दिनुहोस्