वैशाख २३ देखि टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपिओमा आवेदन दिन सकिने


काठमाडौँ। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैशाख २३ गतेदेखि प्राथमिक सेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्नो कुल जारी पूँजी एक अर्ब २० करोड रूपैयाँको ३५.२६ प्रतिशत हुन आउने ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये स्थानीयका लागि १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि ३ लाख ३ हजार ६७ कित्ता सेयर बाँडफाँट भइसकेको छ।

सामूहिक लगानी कोषलाई एक लाख ५१ हजार ५३३ कित्ता र आफ्ना कर्मचारीहरूलाई ६० हजार ६१३ कित्ता सेयर छुट्याएर बाँडफाँट कार्य सम्पन्न गरिसकेको छ। अब बाँकी रहेको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यको २५ लाख १५ हजार ४५५ कित्ता सेयर (कुल २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबर) सर्वसाधारणका लागि उपलब्ध हुनेछ।

आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि छिटोमा वैशाख २८ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।