काठमाडौं । नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन बनेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ।
अध्यक्ष पदबाट सन्तोष श्रेष्ठ को राजीनामापछि रिक्त रहेको पद पूर्तिका लागि गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै आवेदन खुलाएको हो।
अर्थ मन्त्रालयअन्तर्गत रहेको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित सचिवालयमा इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिन सक्नेछन्।
यसपटक अध्यक्ष चयनमा योग्यताका मापदण्डलाई कडा बनाइएको छ। मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार, पूँजी बजार विकास, वित्तीय वा कानुनी क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव अनिवार्य गरिएको छ। उमेर हद ३० वर्षदेखि ६५ वर्षसम्म तोकिएको छ।
त्यस्तै, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन वा लागुऔषध कारोबार जस्ता फौजदारी मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई अयोग्य ठहर गरिएको छ।
बजार नियामक निकायको नेतृत्व चयन प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन आवेदन आह्वान गरिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्