काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले कर्मचारी भर्नाका लागि विनियमावली संसोधन मस्यौदा नेपाल धितोपत्र बोर्डमा पठाएको छ । नेप्सेले तीन वर्षदेखि अवरुद्ध कर्मचारी भर्ना सुरू गर्न विनियावली संसाेधन मस्याैदा अगाडि बढाएकाे हाे ।
कर्मचारी बढुवा तथा योग्यता सम्बन्धी प्रावधानमा देखिएको जटिलताका कारण नेप्सेले लामो समयदेखि कर्मचारी भर्ना गर्न सकेको थिएन ।
पुराना कर्मचारीको बढुवा कसरी गर्ने भन्ने विषय टुङ्गाे नलाग्दा नयाँ भर्ना प्रक्रिया समेत रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले बताए ।
सिइओकाे रूपमा चापागाईं आएपछि कर्मचारीहरूसँग छलफल गरेर आन्तरिक बढुवाकाे विषयमा सहमति जुटाएर विनियमावली संसाेधन अगाडि बढाएका थिए ।
उनकाअनुसार विनियमावलीमा रहेको बढुवासम्बन्धी प्रावधान संशोधन गर्दै बोर्डमा मस्यौदा पठाइएको हो।
हालको व्यवस्थामा आन्तरिक कर्मचारीको बढुवा वा प्रतिस्प्रधाका लागि “सम्बन्धित विषयमा स्नातक” हुनुपर्ने व्यवस्था छ । संशोधित मस्यौदामा भने यसलाई “कुनै विषयमा स्नातक” हुने प्रस्ताव गरिएको छ ।
सिइओ चापागाईंले भने, “१५–२० वर्षदेखि यही क्षेत्रमा काम गरेका कर्मचारीहरू छन्, उनीहरूसँग पर्याप्त अनुभव र दक्षता छ । त्यसैले बढुवाका लागि अनिवार्य रूपमा सम्बन्धित विषय नै हुनुपर्छ भन्ने व्यवस्था व्यवहारिक देखिएन।”
उनका अनुसार बोर्डबाट स्वीकृति पाएपछि मस्यौदा अर्थ मन्त्रालय हुँदै लोकसेवा आयोगमा पुग्नेछ र कर्मचारी भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ ।
सिइओ चापागाईंले भने, “कामको बोझ निरन्तर बढिरहेको छ। कर्मचारी तत्काल आवश्यक छन्। विनियमावलीको विषय टुंगिनेबित्तिकै भर्ना प्रक्रिया अघि बढ्छ।”
हाल नेप्सेमा ५७ स्थायी दरबन्दी रहेकामा केवल ३३ जना कर्मचारी कार्यरत छन्। कर्मचारी अवकाशमा जाने र सेवा छाड्ने क्रम जारी रहेकाले जनशक्ति अभाव चर्किएको सिइओ चापागाईले बताए ।
आगामी पाँच महिनाभित्र थप दुई कर्मचारी सेवा निवृत्त हुँदैछन्।


प्रतिक्रिया दिनुहोस्