काठमाडाैँ । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र नेपाली नागरिकहरूको अवस्था सुरक्षित रहेको जनाएको छ ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरुद्ध यातायात तथा आपूर्ति श्रृङ्खला छिट्टै सुचारु हुने विश्वास व्यक्त गरे ।
प्रवक्ता क्षेत्रीकाअनुसार युएईको फुजेरामा हालै भएका केही छिटपुट घटनाबाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ ।
मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रुम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमार्फत नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ ।
कन्ट्रोल रुममा हालसम्म ३२३ पटक सम्पर्क (कल, इमेल र म्यासेज) भएकोमा पछिल्लो ४८ घण्टामा कुनै पनि नयाँ सम्पर्क नभएको जानकारी दिइएको छ ।
यसले त्यहाँको स्थिति सामान्य बन्दै गएको संकेत गर्ने प्रवक्ता क्षेत्रीकाे भनाइ छ । उनले भने, “पश्चिम एसियामा रहेका नेपालीहरूको अवस्था सामान्य छ र उहाँहरूको सुरक्षा तथा हितका लागि मन्त्रालय निरन्तर सजग छ ।”
यसैगरी, कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा हालसम्म ८७ हजार ५५१ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।
पछिल्लो १५ दिनमा जम्मा ३२ जनाले मात्र थप विवरण भरेको तथ्याङ्कले नयाँ समस्याहरू न्युन रहेको देखाउँछ ।
मन्त्रालयले विदेशमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा नियमहरूको पालना गर्न, साइबर कानूनको उल्लंघन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ ।
इरानमा रहेका ११ जना नेपालीमध्ये १० जना तेहरानमा सुरक्षित रहेको र उनीहरू दोहास्थित नेपाली नियोगको नियमित सम्पर्कमा रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
यसअघि स्वदेश फर्कने तयारीमा रहेका दुई जनाले समेत हाललाई आफ्नो टिकट रद्ध गरी तेहरानमै बस्ने निर्णय गरेको जानकारी प्राप्त भएको मन्त्रालयकाे भनाइर् छ ।
यस्तै, इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको छ ।
इरानको वर्तमान अवस्था र कानूनी प्रणालीका कारण प्रक्रियामा केही समय लाग्ने देखिए पनि इरानी परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।
उनले मन्त्रालय पीडितको परिवार र सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिए ।
पश्चिम एशियामा विकसित घटनाक्रमले नेपालमा पार्नसक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
परराष्ट्रमन्त्रीको संयोजकत्वमा गठित उक्त कार्यदलले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिसकिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्