भी–चित्रलाई ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड


काठमाडौँ । भी–चित्र प्रालिले १५औँ एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ अन्तर्गत ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड जितेको छ ।

भारतको मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा अप्रिल ३० मा आयोजित अवार्ड समारोहमा भी–चित्रले जनसम्पर्क (पीआर) विधाअन्तर्गत विभिन्न स्वर्ण पुरस्कार जित्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेको जनाएको छ ।

एजेन्सीले टिकटकसँगको सहकार्यमा सञ्चालन गरेको ‘टिकटक फ्यामिली पेयरिङ’ अभियानमार्फत ‘बेस्ट इन्टिग्रेटेड पीआर एन्ड डिजिटल इन्गेजमेन्ट’ तथा ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार प्राप्त गरेको हो ।

नेपालमा सन् २०२५ मा टिकटकमाथिको प्रतिबन्ध हटाइएपछि किशोरकिशोरीको डिजिटल सुरक्षाबारे बढ्दो चिन्तालाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ । अभियानमार्फत अभिभावकीय नियन्त्रण सुविधाबारे सेलिब्रेटी, कन्टेन्ट क्रियटर, टेलिभिजन विज्ञापन तथा स्थानीय भाषाका सञ्चारमाध्यममार्फत जानकारी प्रवाह गरिएको थियो ।

“टिकटक फ्यामिली पेयरिङ अभियानले सामाजिक सञ्जालमार्फत परिवारलाई सुरक्षित रूपमा जोड्ने प्रयास गरेको थियो,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भी–चित्रका अनुसार अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी क्रियटर भ्युज तथा ५.८ मिलियन इन्गेजमेन्ट हासिल गरेको थियो । कम्पनीले यस अभियानले टिकटकलाई ‘चिन्ताको प्लेटफर्म’बाट ‘जिम्मेवार प्लेटफर्म’का रूपमा स्थापित गर्न सहयोग पुगेको दाबी गरेको छ ।

यसैगरी, ‘टिकटक सेफ्टी एम्बेसडर’ कार्यक्रममार्फत एजेन्सीले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार जितेको जनाएको छ । उक्त अभियान डिजिटल सुरक्षासम्बन्धी सचेतना अभिवृद्धिमा केन्द्रित थियो ।

ग्राण्ड प्रिक्सअन्तर्गतको समग्र प्रदर्शनका आधारमा भी–चित्रलाई ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि प्रदान गरिएको कम्पनीले जनाएको छ । यो पब्लिक रिलेसन्सतर्फको सबैभन्दा ठूलो सम्मान मानिन्छ ।

“यो उपलब्धिले नेपाली एजेन्सीहरू क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व गर्न सक्षम छन् भन्ने सन्देश दिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

भी–चित्रका अनुसार कम्पनीअन्तर्गतको पीआर केन्द्रित सहायक संस्था ‘मिडियाम्यान’ले अभियानको सञ्चार रणनीति र मिडिया व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको थियो ।

भी–चित्र प्रालि नेपालका अग्रणी एकीकृत मार्केटिङ तथा सञ्चार एजेन्सीमध्ये एक हो । कम्पनीले जनसम्पर्क, डिजिटल मिडिया, इभेन्ट व्यवस्थापन, इन्फ्लुएन्सर मार्केटिङ तथा क्रियटिभ रणनीतिमा काम गर्दै आएको जनाएको छ ।