वैदेशिक रोजगारीमा हुने ठगी, शोषण र अनियमितताविरुद्ध सरकारको शुन्य सहनशीलताको नीतिः मन्त्री यादव


काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभाको आकस्मिक, शुन्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्ण रूपमा सचेत रहेको पनि बताए ।

उनले विभिन्न कारणले विदेशका अस्पतालमा उपचाररत नेपाली श्रमिक तथा उद्धारको प्रतीक्षामा रहेका नेपाली नागरिकप्रति मन्त्रालय अत्यन्त संवेदनशील रहेको रहेको पनि बताए ।

उनले उद्धार तथा सहयोगका लागि देशभित्रका संयन्त्र र विदेशस्थित नेपाली राजदुतावासमार्फत नियमित पहल भइरहेको उल्लेख गर्दै मन्त्री यादवले वैदेशिक रोजगारसम्बन्धी ठगीका ४० हजारभन्दा बढी उजुरी वर्गीकरण गरी निश्चित समयसीमाभित्र फछ्र्योट गरिने समेत बताए ।

आगामी साउन महिनादेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा प्रविधिमार्फत सञ्चालन गर्ने तयारी भइरहेको समेत मन्त्री यादवले बताए ।

उनले भने, ‘वैदेशिक रोजगारमा रहनुभएका नेपाली नागरिकहरुको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्णरुपमा चनाखो छ । विभिन्न कारणले विदेशका अस्पतालमा उपचाररत नेपाली श्रमिक तथा उद्धारको प्रतिक्षामा रहनुभएका नेपालीहरुको विषयमा समेत मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ । र उहाँहरुको उद्धार र सहयोगको लागि देशभित्रकै मौजुदा संयन्त्रहरु विदेशस्थित राजदुतावासबाट नियमित रुपमा पहल भइरहेको छ । वैदेशिक रोजगारीको नाममा हुने ठगी, शोषण र अनियमितताका सम्बन्धमा सरकारको जिरो टोलेरेन्स नीति रहेको छ । विगतमा ठगीसम्बन्धीका ४० हजार बढी उजुरीहरुको वर्गीकरण गरी समयसीमा समेत निर्धारण गरी फच्र्यौट गर्ने नीति लिएका छौँ । अगामी साउनदेखि सबै वैदेशिक रोजगारसम्बन्धीको काम प्रविधिमार्फत हुनेगरी प्रविधि निर्माणको काम भइरहेको छ ।’

उनले विश्वभर रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको पनि बताए ।