महासङ्घमा उपाध्यक्ष पाण्डेले ‘शक्ति केन्द्र’ निर्माण गर्दा खोज्दा अध्यक्ष श्रेष्ठ अफ्ठेरोमा,ढकाल समूहको नयाँ रणनीति


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिमा उपाध्यक्ष प्रवलजंग पाण्डेले आफ्नो नेतृत्वमा ‘नयाँ शक्ति केन्द्र’ स्थापना गर्न खोजेपछि अध्यक्ष अञ्जन श्रेष्ठ कार्यकालको सुरुमै अफ्ठेरोमा परेका छन् ।

पाण्डेले कोषाध्यक्षमा वैकल्पिक उम्मेदवार अगाडि सारेर अध्यक्ष श्रेष्ठलाई चुनौती दिएपछि गत वैशाख २१ र २२ गते ६० औँ साधारण सभामा एक भएर चुनाव लडेको अध्यक्ष अञ्जन श्रेष्ठको टिममा समस्या देखिएको छ ।

नयाँ कार्य समितिमा झण्डै ८५ प्रतिशत अञ्जन समूहका निर्वाचित भएर आएका छन् । अञ्जनले कोषाध्यक्षमा मनिशलाल श्रेष्ठलाई अगाडि सारेका छन् । प्रवलजंग पाण्डेले भने अम्बिकाप्रसाद पौडेललाई अगाडि सारिदिएपछि अञ्जनको टिमभित्रको समस्या बाहिर आएको हो ।

पाण्डेले कोषाध्यक्षमा पौडेललाई अगाडि सारिदिएपछि अञ्जनभित्रको टिम अन्योलमा परेको छ ।

एक केन्द्रीय कार्यकारिणी समिति सदस्यले भने,“सानो दुःखले बनाएको टिम होइन तर सुरुमै समस्या देखियो । यसले पक्कै निराशा ल्याउँछ तर आशा गरौँ सहमति होला ।” महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचनका लागि २०८३ जेठ ८ गते समय तोकिएको छ । यद्यपी अदालतमा मुद्दा परेको छ ।

शिव घिमिरे पराजितपछिको दृश्य

अञ्जन श्रेष्ठको टिमबाट वस्तुगत उपाध्यक्ष शिवप्रसाद घिमिरे पराजित भएका थिए । घिमिरे पराजित हुँदा पाण्डेले एसोसिएट उपाध्यक्षमा आफ्नो टिमको ९५ प्रतिशतभन्दा बढी सदस्यसहित जितेका थिए । वस्तुगतमा झण्डै ५० प्रतिशत उम्मेदवारले चुनाव हारेका थिए ।

अञ्जनको मातृ सङ्घ पनि वस्तुगत हो । उनले आफ्नै मातृ सङ्घको नेतृत्व र नतिजा जोगाउन सकेका थिएनन् । घिमिरे पराजित भएपछि टिममा ‘ठाउँ खाली’ भयो जसको फाइदा उपाध्यक्ष पाण्डेले उठाउन खोजेको देखिन्छ ।

प्रधानविरुद्ध अगाडि सारिएका पौडेल पाण्डेकै नेतृत्वमा रहेको टिममा एसोसिएट्सबाट केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्वाचित भएका हुन् । प्रधान भने चुनाव लडेका थिएनन् ।

महासङ्घको विधानअनुसार कोषाध्यक्ष हुनका लागि केन्द्रीय कार्यकारिणी समिति सदस्य नै हुनुपर्छ भन्ने छैन । आगामी वरिष्ठ उपाध्यक्ष वा अध्यक्षका लागि पाण्डेले अहिले नै शक्ति अभ्यास गर्न खोजेको देखिन्छ ।

प्रवलजंग पाण्डेका बुवा प्रदीपजंग पाण्डे महासङ्घको अध्यक्ष हुँदा एउटा समूहको कोपभाजनमा परेका थिए ।

प्रवलजंगभित्र उक्त तुष बाँकी रहेको निकट स्रोतहरू बताउछन् । उनी जसरी पनि महासङ्घको अध्यक्ष बन्न चाहन्छन्,जसका लागि अहिले निर्वाचित भएर आएलगत्तै अध्यक्ष अञ्जनलाई काउन्टर दिएर नयाँ शक्ति केन्द्र स्थापना गर्ने प्रयास गरेका छन् ।

ढकाल समूहको नयाँ रणनीति

निवर्तमान उपाध्यक्ष हेमराज ढकाल वरिष्ठ उपाध्यक्षको प्रस्तावित उम्मेदवार हुन् । महासङ्घमा एउटा पक्षको नेतृत्वले ढकालले गरेका थिए ।

नतिजाले ढकाल पक्षले न वरिष्ठ जित्ने अवस्था छ न कोषाध्यक्ष । ढकाल समूहले कोषाध्यक्षमा भक्त हमाललाई अगाडि सारेको छ ।

हमाल पनि निर्वाचित केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन् । दुवै पदमा जित्ने सम्भावना नहरेको अवस्थामा ढकाल पक्षले पाण्डेले अगाडि सारेका उम्मेदवार अम्बिका प्रसाद पौडेललाई समर्थन गर्ने सन्देश दिएको छ ।

यो समूहले भक्त हमाललाई चुनाव नउठाएर पौडेललाई समर्थन गर्ने पाण्डेलाई आवश्वासन दिएको छ ।

यसो गर्दा चुनाव जिते पनि सफल हुने र चुनाव नजिते पनि अध्यक्ष अञ्जनको टिममा विभाजन ल्याउन सफल हुने विश्लेषण ढकाल पक्षको छ । यद्यपी अञ्जन पक्षका केही सदस्यले टिमभित्र सहमतिका लागि प्रयास भने जारी राखेका छन् ।