काठमाडौँ । काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई कार्यालय समयभन्दा बढी काममा खटाए अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिन निर्देशन जारी गरेको छ ।
एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै राष्ट्र बैंकले कर्मचारीलाई कार्यालय समय बाहेकको अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने र विशेष अवस्थामा काममा खटाउनुपरे प्रचलित कानुन बमोजिम अतिरिक्त पारिश्रमिक (ओभरटाइम) उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो ।
निर्देशनमा भनिएको छ,“इजाजतपत्रप्राप्त संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न पाइने छैन । कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त परिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।”
अब बैंकहरूले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र अशिक्षित ग्राहकका लागि अनिवार्य रूपमा विशेष काउन्टरको व्यवस्था पनि गर्नुपर्ने भएको छ ।
प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखालाई अपाङ्गमैत्री बनाउनुपर्ने र यस्ता शाखाहरूको विवरण वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
एकीकृत निर्देशनमा भनिएको छ, “ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन इजाजतपत्रप्राप्त संस्थाले त्यस्ता ग्राहकहरुका लागि विशेष काउण्टर तोकी सेवा प्रदान गर्नुपर्नेछ ।”
यस्तै अपाङ्गगता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने स्वघोषणा गरेको खण्डमा सेवा दिनेुपर्ने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्