काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म नेपाल धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूको कुल चुक्ता मूल्य उल्लेखनीय रूपमा बढेको छ ।
आर्थिक सर्वेक्षण २०८२ /०८३ अनुसार गत फागुनसम्म नेप्सेमा सूचीकृत सेयरको कुल चुक्ता मूल्य ९ खर्ब ११ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मूल्य ८ खर्ब ५७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा १४ नयाँ कम्पनी सूचीकृत भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीको संख्या २८६ पुगेको छ । गत वर्षको सोही अवधिमा यो संख्या २६८ थियो। नयाँ सूचीकृत कम्पनी तथा थप सेयर निष्कासनले बजारको कुल चुक्ता मूल्य विस्तारमा योगदान पुराएको देखिन्छ ।

आर्थिक सर्वेक्षणले प्राथमिक शेयर, हकप्रद र बोनस सेयरमार्फत बजारमा नयाँ पूँजी थपिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म २५ करोड ७६ लाख कित्ता प्राथमिक निष्कासन (आईपीओ), ८ करोड कित्ता हकप्रद सेयर र १२ करोड कित्ता बोनस सेयर सूचीकृत भएका छन्।
त्यस्तै १ करोड १० लाख कित्ता सामूहिक लगानी कोषका इकाई, ९ लाख कित्ता थप निष्कासन तथा १ करोड ७० लाख कित्ता बराबरको संस्थागत ऋणपत्र पनि नेप्सेमा सूचीकृत भएका छन्।
तर पनि दोस्रो बजार कारोबारमा केही सुस्तता देखिएको छ । फागुनसम्म धितोपत्र दोस्रो बजारमा १० खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत वर्षको सोही अवधिको १४ खर्ब ६५ अर्ब ६६ करोड रुपैयाँको तुलनामा कम हो।
१३८ कारोबार दिनमा औसत दैनिक कारोबार रकम ७ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो वर्ष यस्तो कारोबार ९ अर्ब ८३ करोड रुपैयाँ थियो।कारोबार भएका धितोपत्रको संख्या २७.२ प्रतिशत र कारोबार संख्या २९.८ प्रतिशतले घटेको सर्वेक्षणमा उल्लेख छ।

कारोबार घटे पनि बजारको आकार भने विस्तार भएको देखिन्छ । २०८२ फागुन मसान्तसम्म नेप्से सूचकांक २८२०.४५ विन्दु पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २७३६.४९ विन्दु थियो।
यसैबीच, कुल बजार पुँजीकरण ४.४२ प्रतिशतले बढेर ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । कुल बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी ५२.१९ प्रतिशत रहेको छ।
त्यस्तै जलविद्युत् कम्पनीको हिस्सा १५.९२ प्रतिशत, लगानी कम्पनीको ७.३९ प्रतिशत तथा उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.१५ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्