जलवायु परिवर्तनका कारण हिमालहरू संकटमाः पर्यटनमन्त्री पौडेल


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । विश्वव्यापी तापमान वृद्धिका कारण हिमतालहरू पग्लिने र खानेपानीका मुहानहरू सुक्ने क्रम बढेको बताउँदै उनले हिमालको सुरक्षामा विश्वको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिए ।

नेपालको समृद्धिको प्रमुख आधार पर्यटन र हिमाल नै भएको उल्लेख गर्दै मन्त्री पौडेलले राष्ट्रिय स्वाभिमान र गरिबी निवारणका लागि हिमाली पर्यटनको दिगो विकास आवश्यक रहेको बताए । सगरमाथा आरोहण केवल भौतिक उपलब्धि मात्र नभइ आन्तरिक यात्रा र मानवीय शाहसको उच्चतम प्रतिक भएको उनकाे भनाइ छ । 

सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरण गर्दै मन्त्री पौडेलले हिमाल आरोहणलाई एउटा गहिरो साधना भएको बताए । मन्त्री पौडेलले संसारका सबै धर्ममा तीर्थाटनको विशेष महत्व रहेको उल्लेख गर्दै हिमाल आरोहणलाई पनि एक प्रकारको पवित्र धार्मिक यात्राको संज्ञा दिए । 

उनले भने, “सगरमाथा चढ्नु भनेको आफ्नै श्वासप्रश्वासलाई बोकेर गरिने एक प्रकारको ध्यान हो । हिमालको सम्मुखमा पुग्दा मानवीय अहंकार गौण हुन्छ र मानिसले आफ्नो सक्षमता एवं त्यागको वास्तविक प्रतिविम्ब देख्न पाउँछ । जसरी मानिस आध्यात्मिक शान्तिका लागि मक्का–मदिना वा मुक्तिनाथ पुग्छन्, हिमाल आरोहणले पनि मानिसलाई वाह्य संसारबाट आन्तरिक अनुभूतितर्फ लैजान्छ । हिमाल विश्वकै ठूलो खानेपानीको स्रोत र ईश्वरको वासस्थान हो। यसको संरक्षण बिना मानव अस्तित्व सुरक्षित हुन सक्दैन ।”

उनले नेपाललाई विश्वमा चिनाउने सबैभन्दा सशक्त माध्यम हिमाल नै भएको दाबी समेत गरे ।