काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालको पुँजी बजारमा व्यापक संरचनात्मक सुधार गर्ने घोषणा गरेको छ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा पुँजी बजारलाई लगानीमैत्री, प्रविधिमैत्री र थप व्यवस्थित बनाउने लक्ष्यसहित नयाँ उपकरण तथा कानुनी व्यवस्था गरिएकाे जानकारी दिए ।
नेपाल स्टक एक्सचेन्जको पुर्नसंरचना अघि बढाउँदै सरकारले इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ तथा डेरिभेटिभ कारोबार जस्ता आधुनिक उपकरण चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरेको छ। सरकारको यो कदमले बजारलाई थप गतिशील र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने अपेक्षा गरिएको छ।
सरकारले सेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ तथा बजार चलखेलजस्ता गतिविधिविरुद्ध ‘शून्य सहनशीलता’को नीति लिने स्पष्ट पारेको छ। बजेटमा नियामक निकायको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली विकास तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने व्यवस्था पनि समावेश गरिएको छ।
त्यसैगरी, नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा ‘ग्लोबल डिपोजिटरी रिसिट’ (जीडीआर) जारी गर्न सक्ने व्यवस्था गरिने भएको छ। यसले नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय पुँजी बजारसम्म पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारले धितोपत्र बजार व्यवस्थापन तथा कसुर–सजायसम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्ने घोषणा पनि गरेको छ। साथै, वित्तीय ट्रष्टीहरूको नियमनका लागि नयाँ ‘ट्रष्टी विधेयक’ तर्जुमा गरिने बजेटमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्