काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल ले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोग ले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले दलित समुदायका समस्या समाधान, सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित गर्न संसद् गम्भीर रहेको बताए।
सभामुख अर्यालले जातीय विभेद अन्त्यका लागि सामाजिक चेतना, कानुनी कार्यान्वयन र आर्थिक सशक्तीकरणलाई मुख्य आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै संविधानको धारा ४० को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था सुदृढ गरिने उल्लेख गरे। साथै, दलित समुदायको मूलप्रवाहीकरण, सशक्तीकरण र समान सहभागिताका लागि आवश्यक कानुन निर्माण तथा संशोधनमा संसद् सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्