काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारका गतिविधिले सकारात्मक संकेत नदिएको टिप्पणी गरे।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले कर्मचारीमाथि आतंक सिर्जना गर्ने, अपमानजनक व्यवहार गर्ने तथा अपशब्द प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। अनुसन्धान गर्नुपर्ने विषयमा छानबिन हुनुपर्ने भए पनि कर्मचारीलाई त्रसित बनाउने गतिविधि उचित नभएको उनको भनाइ थियो।
उनले प्रधानमन्त्री बालेन्द्र साहले दिएको भनिएको ‘राष्ट्रघाती अभिव्यक्ति’ संसदको अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने माग पनि गर्नुभयो। साथै बीवाईडी सम्बन्धी कर छलीको आरोपबारे संसदीय छानबिन समिति गठन गरेर सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरे ।
सांसद पोखरेलले सरकार ‘सनकका आधारमा’ अघि बढिरहेको आरोप लगाउँदै यस्तो प्रवृत्तिले देशलाई विकास र समृद्धिको बाटोमा नभई दुर्घटनाको दिशातर्फ लैजान सक्ने चेतावनी दिए ।
“अनुसन्धान गर्नुहोस्, त्यसमा हाम्रो कुनै आपत्ति छैन। तर कर्मचारीलाई आतंकित गर्ने, अपमान गर्ने र अपशब्द प्रयोग गर्ने गतिविधि राम्रो संकेत होइन,” उनले भने।
पोखरेलले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा राजनीतिक दलहरूको ऐतिहासिक भूमिकाको स्मरण गराउँदै प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन तथा बीवाईडी प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारलाई आग्रह गरे।
उनले वर्तमान सरकारको कार्यशैलीले मुलुकलाई सही दिशामा अघि बढाउने आधार नदेखिएको समेत दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्