रास्वपालाई एमाले उपमहासचिवको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’


काठमाडाैँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्तित्र दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिएका छन् । 

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो चेतावनी दिएका हुन् ।

उनले नेपालजस्तो मुलुकले गलत निर्णयबाट उत्पन्न हुने भूराजनीतिक दबाब थेग्न कठिन हुने भएकाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहनुपर्ने बताए । उनले सरकार गठन भएको सय दिन नपुग्दै केही निर्णय र गतिविधिले प्रश्न खडा गरेको उल्लेख गर्दै महाधिवेशनमार्फत ती प्रश्नको जवाफ दिन रास्वपालाई आग्रह गरे ।

उनले लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्थामा आधारित रहेको भन्दै न्यायपालिका, राष्ट्रपति संस्था, संसद तथा आलोचनात्मक आवाजहरू कमजोर पार्ने प्रयास भए जनताको समर्थन क्रमशः क्षयीकरण हुने चेतावनी पनि दिए । उपमहासचिव ज्ञवालीले सरकारका केही प्रारम्भिक कदम रास्वपाको आफ्नै चुनावी प्रतिवद्धता तथा लोकतन्त्र सुदृढीकरणको वाचासँग मेल नखाएको देखिएको टिप्पणी पनि गरे ।  

उनले लोकतान्त्रिक संस्थाको सम्मान, आलोचनाको ग्रहणशीलता र जनमतप्रतिको उत्तरदायित्व कायम राख्न रास्वपालाई आग्रह गरे ।