काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सडकको खराब अवस्थाका कारण सवारी दुर्घटना भई मानवीय क्षति भए सम्बन्धित सरकारी निकाय र ठेकेदारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता शाहीले सरकारले ट्राफिक नियम उल्लंघन गर्ने नागरिकलाई कडा जरिवाना गर्ने व्यवस्था ल्याउने चर्चा भइरहेका बेला राज्य पनि समान रूपमा जिम्मेवार हुनुपर्ने बताएका हुन्।
उनले नागरिकले ट्राफिक नियम उल्लंघन गर्दा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था हुने हो भने राज्यले पनि आफ्नो दायित्व पूरा नगरेमा जरिवाना तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे।
शाहीले २४ घण्टाभित्र सडकमा खाल्डाखुल्डी मर्मत नगरे राज्यले एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने, ट्राफिक बत्ती बिग्रिएको पाइए थप एक लाख रुपैयाँ जरिवाना हुने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरे ५० हजार रुपैयाँ, राति सडकबत्ती नबले ५० हजार रुपैयाँ तथा ट्रायल पास गरेको एक साताभित्र लाइसेन्स उपलब्ध नगराए ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गर्न सुझाव दिए।
उनले सडकको खराब अवस्थाका कारण दुर्घटना भई कुनै नागरिकको ज्यान गएमा सम्बन्धित सरकारी निकाय र निर्माण कम्पनीका ठेकेदारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने कानुन ल्याउन कानूनमन्त्रीसँग सभामुखमार्फत आग्रह गरे।
ूजनतालाई मात्र दण्ड दिने कानुन ल्याउने होइन, राज्य पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुनुपर्छ,ू उनले भने।
नेता शाहीले सरकारले जनताको हितअनुकूल काम गर्न नसकेको आरोपसमेत लगाउँदै राज्यका निकायलाई थप जवाफदेही बनाउन कानुनी व्यवस्था आवश्यक रहेको बताए।



प्रतिक्रिया दिनुहोस्