वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण गर्दै राष्ट्र बैंक


काठमाडाैँ । नेपाल राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सुरु गर्ने भएकाे छ । वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यले ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटी र्यान्डम स्याम्पिल्ङ विधिबाट वडा छनोट गरेर १० हजार ४०५ वटा नमुना सङ्कलन गरिने राष्ट्र बैंकले जनाएकाे छ ।

यो सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी वित्तीय ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गरिने उल्लेख गरिएकाे छ । सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुर्याउने अपेक्षा राष्ट्र बैंककाे छ ।

सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराएर तथ्याङ्क सङ्कलनको कार्यमा सहयोग गर्न राष्ट्र बैंकले अनुराेध गरेकाे छ ।

राष्ट्र बैंकले भनेकाे छ, “सर्वेक्षणमा सहभागिता स्वेच्छिक हुनेछ र सहभागीले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्नेछन् । सर्वेक्षणमा सङ्कलित विवरण तथा जानकारीहरू तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिनेछ र केवल सामुहिक रुपमा तथ्याङ्कीय प्रयोजनको लागि मात्र प्रयोग गरिनेछ ।”

वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरोकारवाला निकाय तथा आम सर्वसाधारणलाई सर्वेक्षण कार्यमा आवश्यक सहयोग तथा सहकार्य गरिदिन अनुराेध गरेकाे छ ।