काठमाडाैँ । केही समयअघि काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने भन्ने अभिव्यक्तिका कारण आलोचित भएका पूर्वाधारमन्त्री सुनील लम्साल फेरि विवादमा तानिएका छन्। यसपटक उनले काम नगर्ने प्रदेशमन्त्रीलाई समेत थुन्छौं भन्ने चेतावनी दिएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।
आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५, दुलेगौँडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै लम्सालले जनप्रतिनिधिहरूले जनताको काम नगरे कडा कारबाही हुने चेतावनी दिएका हुन्।
उनले भने, ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी।’
लम्सालको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै भिडियो क्लिप सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ। कतिपयले यसलाई जनप्रतिनिधिलाई जिम्मेवार बनाउन खोजिएको सन्देशका रूपमा व्याख्या गरेका छन् भने अर्कोतर्फ कानुनी प्रक्रिया र अधिकार क्षेत्रभन्दा बाहिरको अभिव्यक्ति भएको भन्दै आलोचना पनि भइरहेको छ।
कार्यक्रममा उनले जनप्रतिनिधि र पदाधिकारीहरू जनताप्रति इमानदार हुनुपर्नेमा जोड दिएका थिए। स्थानीय तहका प्रमुख, पदाधिकारी वा जिम्मेवार व्यक्तिले सेवा प्रवाहमा लापरबाही गरेको वा नागरिकलाई दुःख दिएको जानकारी भए सम्बन्धित निकायमा सूचना दिन पनि उनले आग्रह गरे।
उनले भने, ‘यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस्। त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।’
यसअघि पनि लम्साल काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिका कारण विवादमा परेका थिए। त्यसबेला उनको भनाइलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा चर्को आलोचना भएको थियो।


प्रतिक्रिया दिनुहोस्